नेपालमा मानसिक रोग ५५ लाख नागरिकमा

0
117

नेपालमा मानसिक रोग ५५ लाख नागरिकमा

काठमाडौँ । नेपालमा ५५ लाख नागरिक कुनै न कुनै रूपमा मानसिक रोग बाट गुज्रिरहेका छन् । अहिलेसम्म १५ प्रतिशत मात्रै मानसिक रोगी उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेको एक अध्ययनले देखाएको छ । त्यो पनि रोगले निकै च्यापिसकेको अवस्थामा ।

मानसिक रोगीलाई लक्षित गर्दै सरकारले वि.सं. २०४९ सालमा स्थानपना गरेको मानसिक अस्पताल देशकै अभिभावकको भूमिका निभाइरहेको छ ।

बर्सेनि बिरामीको सङ्ख्या बढ्दै गए पनि केन्द्रका अस्पताल भने ५० बेडमा सीमित हुनु परेको छ । बेड अभावकै कारण कतिपय बिरामी फर्कनुपर्ने बाध्यता छ ।

मानसिक रोगी कम भएर हो या सरकारले चासो नदिएर हो, मानसिक रोगी किन पाटन अस्पताल आउन मान्दैनन् ? आए पनि कुन अवस्थामा आइपुग्छन् ? निको हुने सम्भावना कति रहन्छ आदि विषयमा पाटन अस्पतालको अवस्थाबारे अञ्जु तामाङले निर्देशक डाक्टर मोहनराज श्रेष्ठ (लाखे) सँग गरेको कुराकानी :

अस्पतालमा दैनिक सेवा लिनेको सङ्ख्या कति हुन्छ ?
दैनिक १ सय १० जनासम्म आउँछन् । नयाँ र पुराना गरेर १ सय २० जनासम्म हुन्छन् । यसमा पनि १० प्रतिशत जति बालबालिका छन् भने तुलनात्मक रूपमा महिला र पुरुषको सङ्ख्या बराबर नै छ । पहिला मानसिक रूपमा समस्या देखिएको बालबालिकालाई यही अस्पतालमा रिफर गर्ने चलन थियो तर अहिले बालबालिकामा भएको समस्याको बारेमा भने कान्तिबाल अस्पतालले हेर्ने गरेको छ । त्यसो भएको हुँदा उता जाने गरेका छन् । कान्तिमा विगत २ वर्षदेखि बाल मानसिक विशेषज्ञ भएको हँुदा धेरै बालबालिका उतै पठाउने गरेका छौँ ।

मानिसक रोगीहरू कुन अवस्थामा अस्पताल आइपुग्छन् ?

मानिसक रोगी सुरुमा धामीझाँक्रीमा जान्छन्, त्यसपछि जिल्ला अस्पताल अनि बल्ल तेस्रो पटक मात्रै अस्पतालमा आइपुग्छन् । समस्या देखिन साथ अस्पताल आउने भनेको १० देखि १५ प्रतिशत हुन्छन् होला । नेपाल सरकारको केन्द्रीय अस्पताल भएको कारण कडाखालका मानसिक रोगी यही अस्पतालमा आउने गरेका छन् । कडाखालको मानिसक रोग कुल जनसङ्ख्याको १ देखि २ प्रतिशतलाई मात्रै हुन्छ । तर हरेक रोगबाट दिमागमा असर हुने भएको कारण २० देखि ३० प्रतिशत जनसङ्ख्यामा सामान्य खालको मानसिक रोग हुन्छ । जसअन्तर्गत उदासिनता, मन आत्तिने, लागूपदार्थ दुव्र्यसनी जस्ता बिरामीहरू बढी देखिन्छ । पछिल्लो समय त्रि.वि. शिक्षण अस्पताल, प्रसूतिगृह, मेडिकल कलेजहरूमा मानिसक विभाग सञ्चालन गरिएको छ । त्यहीँ उपचार हुन्छ । कडा खालको मानसिक रोग प्रतिशतको आधारमा कम भए पनि नागरिकले हेर्ने दृष्टिकोण निकै फरक छ । मानिसक रोग भनेपछि यो बौलाएकै हो भन्ने ठान्दा रोगीलाई झनै समस्या भइरहेको छ ।

यस्ता कडा खालका रोगको उपचारपछि निको हुने सम्भावना कतिको हुन्छ ?
वंशाणुगत, बायोलोजिकल लगायत विभिन्न कारणले मासिनक रोग लाग्छ । यस्तै प्रतिस्पर्धा, असफलता, हरेक कुरामा तनावले पनि मासिक रोग लाग्न सक्छ । हाम्रो समाजमा उसले यो गर्यो । मैले गर्न सकिनँ जस्ता कुराले आफ्नो काममा सन्तुष्टि हुन नसक्दा पनि मानसिक समस्या हुन्छ । हामी आफ्नो कारणले होइन । अरूको कारणले दुःखी भइरहेका हुन्छौँ, जब एक अर्कामा तुलना गरिन्छ । बालबालिकाको हिसाबमा अरूले फस्ट डिभिजन ल्यायो भन्दैमा उसले पनि ल्याउनुपर्ने दबाब परिवारले दिँदा हीनता बोध हुने र मानसिक रूपमा नकारात्मक असर पर्छ । यस्ता विभिन्न समस्याले गर्दा मानिसले मादक पदार्थ, लागू पदार्थमा फस्न बाध्य हुन्छन् । तर परिवारमा यो पनि एउटा मानसिक रोग हो भन्ने कुराको बारेमा जानकारी नै हुन्न । रक्सी पछिल्लो समय धेरै व्यक्तिको तनावको औषधि बन्दै गएको छ । चाडपर्वमा खाने आफ्नो ठाउँमा छ तर अहिलेत रक्सीबिना बाँच्नै नसक्ने पनि छन् । यस्तो व्यक्तिलाई स्वास्थ्य परीक्षण गर्न जरुरी छ ।

अस्पतालको कुरा गर्ने हो भने भर्ना भएका ९० प्रतिशत मानिसक बिरामीहरू छन् । उनीहरूलाई आफूलाई के भएको हो, के गर्न हुन्छ के हुन्न भन्ने सबै कुरा थाहा हुन्छ । तर बिरामीले गर्ने व्यावहार, सोच, क्रियाकलापमा फरक भइरहेको हुन्छ । नेपालमा धेरैजसो मध्यपान र गाँजा खानेहरूमा बढी मानसिक समस्या देखिन्छ । सुरुमा साथीभाइ, रमाइलोका लागि खान्छन् अनि बानी बस्छ । त्यसपछि दूव्र्यसनमा फसेपछि मानिसक समस्या देखिन थाल्छ । यीमध्ये ७० प्रतिशत नियमित औषधि सेवनबाट निको हुन सक्छन् । बाँकी नियमित औषधि सेवन गरे पनि शतप्रति निको पार्न सकिँदैन ।

तर मानसिक रोग नियमित औषधि सेवन गरिएन भने बल्झिने सम्भावना बढी हुन्छ । एक पटक डिप्रेसन भयो भने दोस्रो पटक ५० प्रतिशतलाई हुने सम्भावना हुन्छ र तेस्रो पकटसम्म ९० प्रतिशतलाई दोहोरिने सम्भावना हुन्छ । सामान्य प्रक्रियामा आउने रोग हो भने ६ देखि १२ हप्तासम्म नियमित औषधि सेवन गरेको खण्डमा ठीक हुन्छ । त्यसपछि ६ देखि ९ महिनासम्म अर्काे पटक औषधि खानुपर्ने हुन्छ । टिभी, मधुमेहको जस्तै यो रोगको औषधि पनि नियमित खानुपर्ने हुन्छ । मानसिक रोगीमा औषधि खाने अनि सामान्य अवस्थामा आएपछि छोड्ने प्रवृत्ति धेरै भएको हँुदा बल्झिने सम्भावना बढी हुन्छ ।

बिरामी मानसिक अस्पतालमा नआउनुको कारण केके हुनसक्छन् ?
अरू अस्पतालमा जानु र मानसिक अस्पतालमा आउनुको सिनारियो निकै फरक रहेको छ । टिचिङ अस्पतालमा मासिक रोगी लगियो भने खासै शङ्का गरिन्न । त्यहाँ सबै प्रकारको रोगको उपचार हुन्छ । तर हाम्रोमा सामान्य टाउको दुखेर उपचार गर्न आउँदा पनि मानसिक रोगी (बौलाएर) आएको भन्ने छाप छाप पर्छ । यही कारणले पनि रोगीहरू अस्पताल आउन चाहँदैनन् । मुख्यतः युवा उमेरका महिलाहरू आउनै चाहँदैनन् । हाम्रो अस्पतालमा सीसीक्यामेरा राखेको छैन तर पनि यहाँ आएपछि चिनेको मान्छेले देख्यो भने ला यसलाई पनि मानसिक रोग लागेछ भन्ने अरूलाई पनि भनिदिने डर मान्छन् । त्यसैले बिरामी रोगभन्दा पनि अरूले थाहा पाउलान कि भन्ने डरले नै आउँदैनन् । यहीँका बिरामी पनि अल्का अस्पताल, टिचिङ अस्पताल जान्छन् । यहाँ आउने भनेका विपन्न परिवार, दुर्गम गाउँबाट आउने, उपचार गर्नुपर्यो भनेर चिठ्ठी बोकेर आउने मात्रै आउँछन् । यही कुरालाई विश्व स्वास्थ्य सङ्गठनले ट्रिटमेन्टग्याप भन्ने गर्दछ ।

अझै ८५ प्रतिशत मानसिक रोगी उपचारभन्दा बाहिर छन् । दुर्गमको नागरिकलाई पनि यहाँ आउनुपर्छ भन्ने थाहा छ तर आर्थिक अवस्थाको कारणले पनि आउन सकेका छैनन् । अज्ञानता, अन्धविश्वास र अशिक्षा जस्ता कुराहरूले अझै पनि मानसिक रोगीहरू स्वास्थ्य संस्थामा आउदैनन् ।

अस्पतालको नाम नै मानसिक राखेर पनि बिरामी आउन नचाहेका हुन् कि ?

त्यो पनि एउटा मुख्य कारण हो । मानसिक रोग भनेपछि धेरैले बौलाह, पागलका रूपमा नै हेर्ने गर्दछन् । यही कारण समाजको डर, अस्पतालमा जाँदा मलाई कसैले देख्ने हो कि भन्ने जस्ता डरले नै उपचारमा आउँदैनन् ।

मानसिक नामले नागरिकमा नराम्रो छाप बसेको छ । यसलाई हटाउने हो कि भन्ने कुरा पनि भएको छ । मुलुकी ऐनमा पनि निर्वाचनको आचारसंहिताको कुरा गर्ने हो भने उम्मेदवारले भर्ने फारममा (बौलाह) अर्थात मानसिक रोग नभएको व्यक्तिले उम्मेदवारी दिनुपर्ने छ भनेर उल्लेख गरिएको छ । कानुनी रूपमा नै चलेको बौलाह शब्दलाई हटाउनुपर्ने कुरा पनि उठेको थियो । तर हटाउन गाह्रो छ ।

मानसिक रोगप्रति सरकारको चासो कस्तो छ ?
मानसिक स्वास्थ्यको कुरा गर्ने हो भने पहिलाको दाँजोमा केही मात्रमा परिवर्तन आएकै हो । कर्मचारी बढेका छन् तर सरकारको नजरमा मानसिक रोग पर्न सकेको छैन । मानिसक रोग यो सर्ने रोग होइन । मर्ने रोग पनि होइन । अनि सरकारले यो रोगमा बढाउनुपर्ने सेवा सुविधालाई खासै चासो दिएको छैन । अरू स्वास्थ्यमा दिएको सेवा सुविधा भन्दा निकै कम रहेको छ । एक आर्थिक वर्षमा १ करोड जति बजेट पर्छ । त्यसमा पछि ८० लाख जति तलब, भत्तामै सकिन्छ बिरामीलाई रासन, पानी, औषधि गर्दा नै सकिने हो । अस्पताल चल्ने भनेको आन्तरिक स्रोतबाट नै हो । मानसिक रोगीलाई जति हामीले सोचेका छाँै त्योभन्दा नितान्त फरक रहेको हुन्छ । मानसिक रोगीप्रति अपनाउनुपर्ने व्यवहारमा फरक हुनुपर्छ । उनीहरूको कुरा सुन्नुपर्यो । हामीले उपचार गर्दा कहिले पनि बिरामीबाट नराम्रो व्यवहार भएको पाएनौँ । तर उनीहरूसँग ठूलो स्वरमा बोल्ने हो भने पिट्न नै झम्टिने खालका पनि हुन्छन् । त्यो तपार्इं हामीमा भरपर्ने कुरा हो ।