यी हुन निद्रा बिगार्ने यी ७ कारणहरू, जानी राख्नुहोस्

0
47

यी हुन निद्रा बिगार्ने यी ७ कारणहरू, जानी राख्नुहोस्

७ देखि ९ घन्टासम्म आँखा बन्द गर्नुलाई मात्रै निदाएको भन्न मिल्दैन । समयमा सुत्न सक्ने क्षमता, निदाउन सक्ने बानी र निदाएको समयमा निकै आनन्दित महसुस गर्ने अवस्थाले तपाईंंको जीवनशैलीमा महत्वपूर्ण प्रभाव पार्छ । आनन्ददायक रूपमा निदाउनेहरूले मात्रै बिहान उठ्दा निद्रा पुगेको अनुभूति गर्न सक्छन् । निदाउनकै लागि संघर्ष गर्नुपर्ने अवस्था स्वास्थ्यका लागि राम्रो मानिँदैन । तपाईंको निद्रा बिग्रनुका कारक तत्व धेरै हुन सक्छन् । त्यसमध्ये प्रमुख ७ कारक तत्वबारे आज चर्चा गरौँ :

१ अव्यवस्थित खानपान – कहिले बढी खाने र कहिले कम खाने बानी राम्रो होइन । कति खाने र कुन समयमा खाने भन्ने कुराले तपाईंको स्वास्थ्यमा महत्वपूर्ण अर्थ राख्छ ।

हरेक रात समयमै खाना खाने गर्नुस् । उस्तै अनुपातमा खानुहोस् । कहिले बढी र कहिले कम खाँदा समस्या देखिन सक्छ । त्यसैले निद्रा लाग्दैन भने ठिक्क खाने गर्नुस् । स्वस्थ खानपिन गर्नुस् ।

२ चिन्ता – कार्यालयको कामले चिन्तित हुनुहुन्छ भने त्यस्तो बानी तत्काल छाड्नुहोस् । अफिसबाट म्यासेज आउला वा अन्य केही समस्या होला भन्ने सोच्नुभएको छ भने त्यस्तो चिन्ताबाट टाढा हुने उपाय खोज्नुहोस् ।

गहिरो सास लिएर सोच्नुहोस् । यो चिन्ता लिने समय होइन । रातिको समय केवल तपाईंका लागि हो । फोन साइलेन्स गर्नुहोस् र आफ्नो समय बिताउनुहोस् । आजको काम भोलि पनि हुनेछ । त्यसैले चिन्ता नलिनुहोस् ।

३ अल्होकल – मानिसहरू विभिन्न बहानामा अल्कोहल पिउँछन् । कसै–कसैले दिनभरको कामबाट थकान मेट्नका लागि पनि कक्टेल सेवन गर्ने गरेका हुन्छन् । तर, अल्कोहलले तपाईंको स्वास्थ्यमा त असर गरी नै हाल्छ, निद्रा पनि प्रभावित गर्छ ।

तपाईं निदाएजस्तो देखिए पनि तपाईंको निद्रा पुगेको हुँदैन । बरु तपाईंको निद्रा उल्टो बिग्रिएको हुन्छ । अल्कोहलको सट्टा पानीको मात्रा बढाउनुस् ।

४ गहिरो सोच – गहिरो सोचले पनि निद्रालाई असर गर्छ । जस्तो– झगडा गरेर सुत्न जानुहुन्छ भने त्यतिवेला मज्जाले सुत्न सकिँदैन । रिसले तपाईंको निद्रालाई असर गर्छ । त्यसैले सकेसम्म कम सोच्नुहोस् ।

५ टिभी– टिभी हेर्ने बानी नराम्रो होइन । तर, घन्टौँसम्म टिभी हेर्ने बानी अवश्य स्वास्थ्यका लागि हानिकारक छ । तपाईंले कहिलेकाहीँ ३० मिनेट टिभी हेर्छु भन्दा ३ घन्टा हेर्न सक्नुहुन्छ । कहिलेकाहीँ निश्चित समयको सिरियल हेर्नु अलग विषय रह्यो ।

तर, बेडरुममा आफ्नो ध्यान भंग गर्ने गरी टिभी हेर्नु राम्रो हुँदैन । त्यस्तै, बेडरुममा रहँदा मोबाइल र इन्टरनेटबाट पनि टाढा रहनुस् । सामाजिक सञ्जालमा सक्रिय रहँदा पनि तपाईंको निद्रा बिथोलिन सक्छ । टिनएजरहरूमा यस्तो समस्या धेरै देखिन्छ ।

६ कफी सेवन– कफीले तनाव हटाउँछ । तर, अत्यधिक कफी सेवन पनि स्वास्थ्यका लागि राम्रो होइन । रातको समयमा तपाईंले कफी लिनुभयो भने निद्रा लाग्दैन । त्यसैले कफीको सट्टा हर्बल चिया वा पानी सेवन गर्ने गर्नुस् ।

७ भय – तपाईंको दिमागमा डर सिर्जना भयो भने पनि निद्रा नलाग्न सक्छ । त्यसैले त्यस्ता गतिविधिबाट टाढा रहनुस्, जसले डर सिर्जना गर्छ । प्रेरणादायी सिनेमा वा उपन्यासले तपाईंमा ऊर्जा जगाउन सक्छ भने थ्रिलर फिल्म वा साहित्यले डर सिर्जना गर्न सक्छ ।

सिनेमामा देखाइएका बीभत्स दृश्य वा काटमारका घटनाले पनि भय सिर्जना गर्न सक्छ । कहिलेकाहीँ प्रत्यक्ष रूपमा देखेका बीभत्स घटनाको प्रभाव लामो समयसम्म मानिसको मस्तिष्कमा रहन्छ । यस्तो अवस्थामा त्यस्ता घटना बिर्सने कोसिस गर्नुहोस् । अरू नै कुरामा ध्यान दिनुस् वा ध्यान गर्न पनि सक्नुहुन्छ । भय सिर्जना हुने गतिविधिबाट टाढै रहनुस् ।